धर्म भनेको विश्वासको अर्को नाम हो । जुन कुरालाई आफूले 'यो मेरो हो', 'यो ठीक हो', 'यो यस्तै हो' भनी आफ्नो मनभित्र गहिराएर धारण गरिराख्छ त्यही धारणालाई धर्म भनिएको हो । यसैले आगोलाई छुनासाथ पोल्छ भन्ने धारणा हाम्रो मनमा हुनासाथ आगोलाई छुन डराउँछौं। यो हाम्रो विश्वास हो कि आगोले पोल्छ । आगोलाई छुनुहुन्न भन्ने धारणाले मन मजबूत भएपछि हाम्रो धर्म आगोलाई नछुने भन्ने हुन गयो। तब त्यस्ता मानिसको धर्म नै आगोलाई नछुने भन्ने पनि हुन गयो । त्यस्तै आगोको क्षमता पोल्ने हो । पोल्ने बस्तु त्यसले धारण गरिराखेको छ, त्यसैले आगोको धर्म पोल्ने भयो।
मानिस विश्वासले धर्म मान्दछन्। आफूलाई जुन कुराबाट विश्वास पार्न सक्यो त्यसैको पछि लागी धर्म पालन भन्दै मानिसले आफ्नो क्रियाकलापलाई अगाडि बढाउँछन् । यसैको फलस्वरूप मानिस विभिन्न धर्मावलम्बी बनेका छन् । आफूलाई विश्वास पारेर कुरा गर्नेलाई मानिसले गुरु थाप्ने गर्दछन् । यसैले कसैको धर्ममा गुरु हुन्छ भने कसैको धर्ममा गुरु नै हुँदैन । प्रकृतिवादीहरूका लागि गुरु स्वयं प्रकृति रहेको हुनाले उनीहरू व्यक्ति विशेष वा आत्मपरक विषयसँग सम्बन्धितलाई गुरु मान्दैनन् । कोही भने महापुरुषहरूलाई नै गुरु मानेर बसेका छन् । यसैको फलस्वरूप बुद्ध, इशा र मुहम्मद आदि महापुरुषहरूको प्रभाकारी उपदेशलाई मनन र धारण गरी उनीहरूको उपदेशको पछि लागेर उनीहरूकै नामबाट धर्म अपनाएर आफ्नो क्रियाकलापलाई अगाडि बढाएर मानिसले जीवन गुजारेका छन्।
यस परिप्रेक्षमा हेर्दै जाँदा धर्म भनेको प्रभाव हो कि भन्ने कुरा झल्कन आउँछ । जसलाई जुन कुराको प्रभाव पर्छ त्यही उसको धर्म हुँदोरहेछ । आमाले स्याहार संभार गरेको कुराको प्रभाव परेका व्यक्तिले आमालाई नै देवता मान्ने र आमालाई मान सम्मान गरी पूजा गर्नुलाई नै उसले आफ्नो धर्म मान्दछ । यसरी प्रभावकारी सम्पूर्ण बस्तु धर्मका आधार बनेका छन् । ती बस्तुको पूजा आजा गर्ने गरिएको छ । त्यसै गरी व्यक्तिहरू पनि पूजित भएका छन् ।
कुनैपनि बस्तुको आफ्नो स्वभाव हुन्छ । आगोको स्वभाव माथितिर जाने र पानीको स्वभाव तलतिर जाने । त्यस्तै मानिसको पनि आफ्नै स्वभाव छ । प्रकृति र मानिसको स्वभावमा फरक छ । प्रकृतिलाई कसैको प्रभाव पर्दैन भने मानिसलाई अरूको प्रभाव पर्न सक्दछ । प्रकृतिलाई जबर्जस्ती थुनछेक गर्न सकिन्छ भने मानिसलाई जबर्जस्ती गर्न सकिन्न । यी दुई बस्तुमा मिल्ने एउटै कुरा छ कि जबर्जस्ती सधैं अड्दैन । जस्तो कि जस्तै थुनछेक गरिएपनि मौका पाउनासाथ प्रकृतिले आफ्नो स्वभाव जमाइहाल्छ, त्यस्तै मानिसलाई जबर्जस्त गर्न नसकिने अर्थ पनि मानिसमा एउटा स्वभाव र विवेकले बास गरेको हुनु र जुनसुकै बेला ऊ विवेक प्रयोग गर्ने हुनु हो।
यसैले धर्म र स्वभावका बीचमा फरक पाउन गाह्रो देखिन्छ र धर्मपरिर्वतन भनेकै स्वभावपरिवर्तन र स्वभावपरिवर्तन भनेकै धर्मपरिवर्ततन भनेझै भएको छ । स्वभावको साथसाथै आवश्यकता पनि त्यसमा सन्निहित भएर आएको हुन्छ । शारीरिक आवश्यकता (Biological need) पनि एउटा स्वभाव हो। आहारमैथुनादि आवश्यक भएको स्वभावले सम्पूर्ण जीवात्मालाई एकै धर्मको छत्रछायामा राखेको पाइन्छ तापनि ऋतु परिवर्तन हुने भएझै जीवैपिछे स्वभाव पनि फरक हुने गर्दछ । यी सबैलाई आ-आफ्नो धर्म भनिन्छ।
यसरी धर्मको कुरातिर चक्कर लगाउँदै जाँदा मानवको धर्म छुट्टै हुन आउँछ । यो छुट्टै हुनुको एउटा कारण उही विवेकशीलता हो । कुकुर भुक्छ, उसको स्वभावले, भुक्ने स्वभाव उसमा अन्तर्निहित छ । त्यस्तै काम, क्रोध, लोभ, मोहादि मानिसभित्र अन्तर्निहित कुरा हुन् । यी कुरालाई दमन गर्ने एउटै उपाय विवेकको प्रयोग हो जुन मानिसमा सिबाय अरूमा छैन । विवेकलाई अर्को नाम दिन सकिन्छ 'संयम', संयम विवेकशील प्राणीमा मात्र हुन्छ । आचरणशास्त्रअनुसार संयमीलाई धार्मिक व्यक्ति भनिन्छ । संयम छोडेमा त्यो अधार्मिक हुन्छ । धार्मिक महापुरुषहरूले मानिसलाई आचरणमा नै जोड दिएको हुन्छ ।
आचरणको आधार पनि सबैको एकै प्रकारको हुँदैन । सिद्धान्त प्रतिपादकपिछेको आचरणको आधार फरक फरक पाइन्छ । शाक्तधर्मको बलिप्रथा र मुसलमानधर्मको हिंसाप्रथा अलग अलग आचरणको रूपमा पाइन्छ । कस्तो आचरण राम्रो हो भन्ने कुरा ठम्याउन ज्यादै गाहो छ । आ-आफ्नो राष्ट्रको पोशाक आफू-आफूलाई राम्रो लाग्ने भनेझैआ-आफ्नोधर्मदशक धर्मगुरुहरूको उपदेशअनुसार आफ-आफूलाई त्यही त्यही आचरण राम्रो र ठीक ठानिने हुन्छ।
शाक्यमुनि गौतम बुद्धले आचरणको आधार आफैमा निहित भएको कुरा बताएका छन् । आर्यअष्टांगिक मार्ग बुद्धको दिमागले प्रशोधन गरी निकालेको आचरणशास्त्र हो । यो सामान्य आचरणभन्दा केही माथिको छ । प्रत्येक प्रकारको आचरणले मानिसको सुख दु:खलाई इंगित गरेको हुन्छ । आचरण नै सुख दुःखको कारण हो भन्नेहरू नै धेरै छन् । भगवान् बुद्धको हेतुवाद नै सुख दु:खसँग सम्बन्धित व्यावहारिक सिद्धान्त हो तर सिद्धान्त जतिसुकै प्रकारको भए तापनि ती सबै मानवकल्याणका लागि नै हुन् भन्नेचाहिँ सबैले मानेको कुरा हो। मानवको हित नहुने सिद्धान्त खालि कोरा कल्पना र हठवादमात्र हो। हालसम्म प्रतिपादित सबै सिद्धान्तहरूमा मानवहित हुने कुरा नै अधिकांशरूपमा पाइन्छ । परिपक्व सिद्धान्तमा अंग पुगेको हुन्छ भने अपरिपक्व सिद्धान्त अपांग हुन्छ । अपांग सिद्धान्त विस्तारै हास हुँदैजान्छ र परिपक्वचाहिँ विस्तृत हुँदैजान्छ । यो कुरा संसारका धर्मावलम्बीहरूका बीच दृष्टिगत गर्दा थाहापाइने कुरा हो। चानचुने सिद्धान्तहरू आए गए, त्यसको प्रभाव न्यूनतम रहे भने ठूलठूला मानवहितका सिद्धान्तले व्यापक रूप लिइराखेको छ । अझ भन्ने हो भने मानिसको दिमाग तिखारिदै आएपछि व्यापकरूपमा रहेको सिद्धान्त अन्तर्गतका धर्महरूमा पनि हासता देखिदै आएको छ र मानववादीताले जरो गाडेको धर्मले विश्वव्याप्तता कायम गर्दै आएको छ। 'धर्म'भित्री हृदयदेखि समर्थन गरी मानिने बस्तु भएको हुनाले अर्थ, काम र मोक्षबाट यो टाढा हुँदै गई यस जीवनमा नै कर्तव्य निभाउनुपर्ने बोध हुँदै आएको छ। कर्मवाद यही बोधको फल हो। राम्रो काम गर्नेले अरूलाई राम्रो पारी आफू पनि राम्रो हुन्छ र नराम्रो काम गर्नेले आफू खाडलमा धसिई अरूलाई पनि खाडलमा धकेलिदिन्छ । जसलाई आफूले मानेको धर्ममा हास आउन लाग्यो भन्ने डर पैदा भएको छ त्यसले पैसा आदिको प्रलोभन दिई धर्मलाई संकुचित पार्दै लग्ने पनि गरिआएको छ । धर्म भनेको पैसाले किनिने बस्तु होइन न जबर्जस्ती प्रचार, प्रसार गरेर हुने कुरा हो। जर्बजस्ती गर्नु मानवधर्म होइन । यहाँ धर्ममा जबर्जस्ती गर्ने मानिस धेरै छन् । उनीहरू धर्मलाई बचाउने भनी आफूलाई धर्मको ठेकेदार मान्दछन् । ठेकेदारीप्रथा धर्मको क्षेत्रमा नीच काम हो । धर्मको नाममा सभा समारोह गर्ने र धर्मदशनाको आयोजनामात्र गरी मानवव्यवहार प्रति भने कन्जूसी हुनेहरू नै धर्मध्वंशकारी हुन्छन् । उनीहरू धर्मको नाममा सम्पदाय जमाएर साम्प्रदायिक भावना फैलाई मानवताको हत्या गरेर हिँड्ने हुन्छन् । यो ज्यादै मननीय र शोचनीय कुरा हो । अशिक्षित व्यक्ति जे पायो त्यसैलाई 'धर्म' भनी ठान्दछन् भने शिक्षित व्यक्ति त्यस्ता अशिक्षितलाई फण्डामा फँसाएर आफू सर्वश्रेष्ठ भन्ने ढोंग रच्ने पनि हुन्छन् । यस्तो कुरा सद्व्यवहारवादीमा लाग्ने कुरा होइन तापनि असद्व्यवहार गर्ने छलीहरूको लागि भने यो कुरा घोच्नेखालको नै हुन्छ।
मानवधर्म भन्नाले मानवसँग सम्बन्धित सबै बस्तुमा लागू हुन्छ । जस्तै मानवको छर-छिमेक, चराचुरुङ्गी र पशुहरू हुन् । मानिसहरूको यिनीहरूसँग सम्बन्ध पूर्ण मानवीय हुनुपर्दछ । मानिसले आफूलाई विवेकशील भनी गौरव मान्दछ भने उनीहरूप्रतिको सास्ना र अवहेलनालाई छोड्नुपर्दछ नत्र मानिसमा मानवता रहेको ठहर्दैन । मानिसमा रहने शक्तिको अहंकारले गर्दा पशुप्रति हुने अन्याय मानवताभन्दा धेरै टाढाको व्यवहार हुने हुन्छ । यसरी मानिस-मानिसका बीच र मानिस र अन्य प्राणीका बीच सुमधुर सम्बन्ध र दयादाक्षिण्यादि गुण कायम राख्नु नै मानवधर्म हो। आजको परिप्रेक्षमा बुद्धधर्म नै यससम्बन्धको निकटतम धर्म देखिन आउँछ । वास्तविक बुद्धधर्म नबुझ्नेहरूलाई आफै नमूना बनी सच्चा बुद्धधर्मावलम्बीले पथप्रदर्शन गर्नु आवश्यक छ।



Post a Comment