चन्देश्वर दास । पृथ्वी नारायण शाहले नेपाल नामक देशको निर्माण गर्दा देखि नै सहयोग र सहादतको गौरवशाली इतिहास छ तर राष्ट्रनिर्माण संपन्न भए पछि हामीले के पायौ। राष्ट्र निर्माणको क्रममा पृथ्वी नारायण शाहले विसे नगर्चि संग सापट लिएको एक मोहोर पनि फर्काएन। आखिर हामिले के पायौ ?


नेपाल निर्माण पछि शाहहरुको शासन उनीहरुकै कुटुम्ब राणाहरुले कब्जा गरेपछि राणा र शाह बिचको लड़ाइमा पनि हामी सहिद भयौ पुनः शाह हरुको शासन पुनर्स्थापना भयो । हामिले के पायौ ?


शाह हरुको सत्तालाई निरंकुश सत्ता हो भनेर शाही सत्ताको निर्दलियों सत्ताको विरुद्ध बहुदलीय प्रजातंत्रको लडाइ लड्यौ त्यसमा पनि हामीले उल्लेखनीय सहयोग र सहादत दियौ त्यो योगदान ऐतिहासिक रह्यो। तर हामिले के पायौ?


बहुदलीय प्रजातंत्रमा पनि शाह राजाहरुलाई नै टाउको बनाइयो र पुनः लोकतंत्रको नाममा क्रांति भयो । त्यस आंदोलनमा सहादत दिएर सहिद बन्नमा हामी नै अव्वल रह्यौ, यसलाई जनताको शासन आयो भनेर विज्ञापन गरियो तर त्यस शासन तंत्रमा हामीलाई सहभागिता गराइएन । हामिले के पायौं?


यो तंत्रको विरुद्ध पनि केहि जनै टुप्पिधारिहरुले कथित कम्युनिस्टको नाममा चर्को नारा घन्काए र माओको शैलिमा सशस्त्र भुमिगत युद्ध गरे जसमा भनियो कि यो युद्ध सफल भएमा जातैपिच्छेको जातिय राज्य आत्म निर्णय सहितको अधिकार दिने तथा गरिब शोषित उत्पिडित सर्वहाराको शासन आउछ भनेर गरिएको युद्ध जसको नाम पंडितहरुले “जनयुद्ध”राखेको थिए त्यस युद्धमा झन हजारौको संख्यामा सहादत दियौ । हामिले के पायौं?


त्यस पछि मधेशीहरुले अधिकार पाएन भनि तराई मधेशमा ठुलै आंदोलन भयो त्यसमा पनि सैकड़ों सहिद भए, हामीलाई लाग्यो अब त पक्कै अधिकार पाइन्छ भनेर सबैभंदा अग्रपंक्तिमा रहेर लड्यौं तर शासन र सत्ता भंदा बाहिर भयौं, दैनिक जसो हत्या, बलात्कार कुटपिट यातना भोगि रहेको छौ । हामिले के पायौं ?


पटक-पटक क्रांतिमा सहादत दिए पनि हामीले केहि पाएनौ किनकि ति सबै परिवर्तनको आंदोलन थिएन त्यो त केहि बाहुन र क्षेत्री बिचको द्वन्द्व थियो। ति आंदोलनको नेतृत्व हाम्रो थिएन, दुश्मनको षड्यंत्रको शिकार भयौं यसको मुख्य कारण न विचारधारा हाम्रो नियंत्रणमा थियो न नेतृत्व नै हाम्रो थियो। अब अझै कति अन्यको लागि लड्ने ? बाहुनधर्मको चातुर्वर्ण्य वर्णव्यवस्थाले निर्माण गरेको जातिविभेद छुवाछुतलाइ समुल नष्ट गर्नको लागि अंतिम लड़ाई लडौ जुन आंदोलनले हामी संग खोसिएको संपुर्ण गुमाएको हकअधिकार क्षतिपूर्ति सहित फिर्ता होस ।


लेखक मूलबासी अभियनता हुन।

Post a Comment