बलिहाङ तङ्नाम किरातहरूले परापूर्वकालदेखि परम्परानुसार मनाई ल्याएका मुख्य चाड हुन् ।किरात देशले परिचित नेपालको पश्चिम क्षेत्रमा राज्यगर्ने बलिहाङ नामक ख्याती प्राप्त किरात राजा थिए । उनी अति दानी, प्रतापी, प्रजावत्सल र आध्यात्मिक व्यक्तित्वका धनी थिए । ताग्येरा निङ्वाफुमाङका परमभक्त हुनुका साथै उनमा भविष्यवाणी गर्नसक्ने शक्ति समेत थियो । आफ्ना प्रजाहरूबीच उनी अत्यन्तै लोकप्रिय थिए । त्यसैले प्रजाहरू सधै उनको दीर्घायुको कामना गर्दथे तर जन्मेपछि एक दिन अवश्य मर्नैपर्ने प्रकृतिको नियमलाई कसले टार्न सक्छ र ? जब राजाले आफ्नो मृत्युको समय थाहा पाए। उनले मुख्य मुख्य भारदारहरू, राजदर्वारका पदाधिकारीहरूलाई दर्वारमा भेला गराई यस संसारबाट विदा हुने आफनो अन्तिम दिन आइपुगेको घोषणा गरे ।


राजाको त्यस्तो दुःखदायी घोषणा सुनेपछि सम्पूर्ण भारदार तथा पदाधिकारीहरूले के कस्तो सद्भक्ति र उपाय गरेमा आफ्ना प्रजापालक राजाको आयु लम्ब्याउन सकिन्छ अर्थात् कालको मुखबाट बचाउन सकिन्छ भनी राजा समक्ष आफ्नो जिज्ञाशा राखे । आफ्नो अन्तिम घडी आएपछि कालको मुखबाट उम्किन नपाउने प्राकृतिक नियम हो तापनि सद्भक्ति र सदुपायले तत्कालीन आपद विपतलाई टार्न सकिन्छ। तर यस्तो कुरो मानिसको वशमा नभई यमराजको दयामा निर्भर गर्दछ भनी राजा बलिहाङले आफ्नो भनाइ राख्दै यसो भने -आउँदो कात्तिक महिना अर्थात् अक्टोवर/नोवेम्बर महिनाको औँसीको अन्धकार रातमा यमराज आउने छ र उनलाई लिएर जानेछ । तर यमराजलाई खुशी पार्न सकेमा जीवन फिर्ता गर्न पनि सक्नेछन् भनी त्यसको उपाय समेत यसरी बताए :-


कातिक महीनाको डरलाग्दो औंसीको रात आउनुभन्दा अघि नै राजदर्वारका प्रमुख पदाधिकारीहरूलगायत सम्पूर्ण प्रजाहरूले स्नानगरी शारीरिक सफासुग्घर र मानसिक हिसाबले पवित्र भइरहन पर्दछ । जब त्यो अन्धकार डरलाग्दो औँसीको रात आउँछ तब समस्तले आफ्नो घरभित्र र बाहिर हजारौँ बत्तीहरू बाली उज्यालो बनाई राजा बलिहाङको आयु बढाई दिन रातभर ताग्येरा निङवाफुमासँग प्रार्थना गर्नुपर्छ र मानसिक हिसाबले पवित्र भइरहन पर्दछ । जब त्यो अन्धकार डरलाग्दो औँसीको रात आउँछ तब समस्तले आफ्नो घरभित्र र बाहिर हजारौँ बत्तीहरू बाली उज्यालो बनाई राजा बलिहाङको आयु बढाइदिन रातभर ताग्येरा निङवाफुमाङसँग प्रार्थना गर्नुपर्छ र यमराजको आगमनलाई पनि हेरिरहनु पर्दछ। प्रकाशको बीचमा छायाको आकारमा यमराज देखा पर्नेछ । यसरी प्रकाशको बीचमा मान्छेको छायाजस्तो दृश्य देख्नासाथ जतिसक्दो चाँडो बूढा/ बूढी, युवा/ युवती, बाल/बालिका सबैले संयुक्त भई हात जोडी अन्तरात्माले विश्वासपूर्वक एउटै आवाजमा राजा बलिहाङको आयु बढाई डरलाग्दो रातबाट बचाउन उनीसँग प्रार्थना गर्नुपर्छ ।


राजा बलिहाङको जीवनरक्षाको लागि उनका प्रजाहरूको सच्चा प्रार्थना र भक्तिबाट यदि यमराज सन्तुष्ट भएमा उनले राजालाई जीवनदान दिई (आयु बढाई) त्यो डरलाग्दो रातबाट उनलाई बचाउने छन् । राजा बलिहाङको त्यस्तो कुरा सुनेपछि सम्पूर्ण भारदार र पदाधिकारीहरूले आउने कात्तिक महिनाको अन्धकारमय औँसीको रातमा आफ्ना शरीर र आत्मा शुद्ध वा पवित्र राखी सम्पूर्ण प्रजाहरूले राजा बलिहाङको जीवन रक्षाको लागि सच्चा अन्तरात्माले ताग्येरा निङवाफुमाङसंग प्रार्थना गर्न समस्त प्रजाहरूमा समेत सूचना जारी गरे ।जब कातिक महिनाको त्यो औँसीको दिन आयो समस्त्र स्त्री/पुरुष, युवक/युवती, प्रमुख भारदार, पदाधिकारीहरू समेत समावेशभई स्नान्गरी घरलाई सफासुग्घर एवम् श्रृङ्गार गरेर रात पर्नासाथ उनीहरूले घरभित्र र बाहिर बत्तीहरू बाली राजा बलिहाङको जीवनदानको लागि उपवास बसी ताग्येरा निङ्वाफुमाङको प्रार्थना गर्न थाले । राजा बलिहाङ निराश भई भारदारहरू र पदाधिकारीहरूबीच ढल्किरहेथे । सम्पूर्ण प्रजाहरू राजदरवारको भित्र/बाहिर प्रार्थना गीत गाइरहेका थिए । राजदर्वारको भित्र/बाहिर जहीँतहीँ उज्ज्वलमय बत्तीहरू बलिरहेका थिए । प्रजाहरू पूर्ण होसियारका साथ राजाका निमित्त प्रार्थना गरिरहेका थिए ।


मध्यरात बित्नासाथ अचानक यमराज प्रकाशको बीचमा मान्छेको छायाँको आकारमा देखा परे । त्यसलाई सबैले देखेर उनीहरू सबैले एकै स्वरमा प्रार्थना गाए र सद्भक्तिका साथ अन्तरात्माले राजा बलिहाङको आयु थप गरिदिन अनुरोध गरे । उनीहरू रुदै चिच्याउँदै भन्न लागे-यदि राजा बलिहाङको मृत्यु भयो भने राज्यभरका हामी प्रजाहरू भिषण अन्धकारमा पर्ने भएकाले राजा बलिहाङको आयु बढाई त्यस डरलाग्दो रातबाट बचाउन यमराजसँग सबैले अनुनय गरे ।राजा बलिहाङप्रति प्रजाहरूको त्यस्तो अगाध श्रद्धा एवम् स्नेह देखेर उनीहरूलाई यमराजले उत्तर दिए- मानवको जीवन-मरणको अधिकारी उनी नभए तापनि उनलाई बचाउने प्रयास गर्ने वचन दिए । उनले त्यसो भन्नासाथ त्यो छायाँ अदृश्य भयो । राजा बलिहाङले पनि अन्तिम सास लिए । सबै प्रजाहरू पनि राजा बलिहाङको आयु थप गर्न रुँदै प्रार्थना गरिरहे । विहान भाले बास्नासाथ मिरमिरे उज्यालो हुनलाग्दा पुनः राजा बलिहाङले सास फेरे र सचेत भए । जब उनी पूर्ण चेतनामा आए उनले आफना प्रमुख भारदारहरूतर्फ हेरेर भन्न थाले कि तिमीहरू लगायत सम्पूर्ण प्रजाहरूका सच्चा व्रत, प्रार्थना र अटल विश्वासद्धारा मैले पुनः जीवन पाएँ । प्रजाहरूको यस्तो भक्तिबाट उनी अत्यन्त सन्तुष्ट भए । प्रजाहरूको सच्चा भावभक्तिबाट आफूले पुनःजीवन पाएका कुरा समस्त प्रजाहरूमा खुशियालीको रुपमा मनाउन आदेश पनि जारी गरे ।


त्यस दिन खानु पिउनु र आनन्दका साथ रमाइलो गर्ने र त्यो घटनाको सम्झनास्वरुप प्रत्येक वर्षो कातिक महिनाको औँसीलाई उनीहरूको पर्वको दिन मनाउन उनले आफ्ना प्रमुख पदाधिकारीहरूमार्फ प्रजाहरूमा आदेश दिए । उनीहरूले आफ्नो घरभित्र र बाहिर बत्तीहरू बाली उज्यालो पारी उनीहरूको राजा बलिहाङको स्मरण गर्न राजदर्वारका पदाधिकारीहरूले राजा बलिहाङको आदेशानुसार सम्पूर्ण प्रजागणहरूमा सूचना जारी गरे। प्रजाहरूले पनि राजा बलिहाङलाई उनीहरूको पुरोहित राजाको रूपमा आदर गर्न थाले। फाइलो देउसी जस्ता शव्दहरूबाट गीत रची प्रत्येक वर्षो दीपावली पर्वमा गाउन थाले जसको अर्थ पुरोहित राजालाई सहयोग गर्‍यौ भन्ने अर्थ हुन्छ । समूह-समूह भएर यो पर्वमा राति घर-घरमा गाउँदै हिँड्दा लारिङ्गेःक् र दिनमा गाउँदा नाम्लिङ्गेःक भन्दै आफनो जातीय बाजा 'के' च्याब्रुङका साथ बलिहाङ तङनाम मनाउने चलन चल्यो ।


नोट:- सम्पूर्ण शुभचिन्तक ज्यु हरुमा क्रमश भागहरु पढदै जान हुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।


लेखक:- मञ्जुल याक्थुम्बा

कलम:- आकाश क्षितिज लिम्बु

Post a Comment